Saturday, February 6, 2016

नयाँ शक्तिको आचार संहिता : समयको पालना गर्ने, विना श्रमको कमाई नखाने

काठमाडौं, माघ २३ -
 पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नयाँ शक्तिले आचार संहिता र प्रद्धिबद्धता सार्वजनिक गरेको छ । शनिबार बसेको अन्तरिम केन्द्रीय परिषदले आचार संहिता र प्रतिबद्धता सार्वजनिक गरेको छ । जुन यस प्रकार छ :
नयाँ शक्ति, नेपालको अन्तरिम केन्द्रीय परिषदको बैठकमा प्रस्तुत आचारसंहिता तथा ५‘स’को प्रतिवद्धता

नयाँ शक्ति, नेपाल
नयाँ शक्ति, नेपालका सबै तहमा क्रियाशील अभियन्ताहरुकालागि आचारसंहिता

म नयाँ शक्ति,नेपालको अभियन्ता हुँ । म नेपाली राजनीतिमा परिवर्तन चाहन्छु.। यसकालागि म आफैंबाट परिवर्तनको सुरुवात गर्दछु ।  त्यसैले म निम्न आचारसंहिता पालना गर्न प्रतिवद्ध छु :

१.     नेपालमा भएका ऐतिहासिक राजनीतिक उपलव्धीहरुको म हृदयदेखि नै सम्मान गर्दछु ।
२.    यसकालागि महान शहीदहरुको योगदानको स्मरण गर्दै उहाँहरुको जीवन उत्सर्गको मूल्य र मान्यताबाट सदैव प्रेरित भइरहने छु । म शहीदको सपना पूरा गर्न प्रतिवद्ध छु ।
३.    म हरेक मान्छेको सार्वभौमिक स्वतन्त्रतालाई सम्मान गर्दछु । म मानवअधिकारको विश्वव्यापी मान्यताबाट निर्देशित भई नयाँशक्तिको राजनीतिक अभियानमा संलग्न हुनेछु ।
४.    म राजनीतिलाई अस्वस्थ विरोध, गालीगलौज र ध्वंसबाट नभई सकारात्मक पहल, आपसी सम्मान र प्रतिस्पर्धाबाट सु–सज्जित गर्न चाहन्छु । मेरो राजनीतिक संलग्नता उच्च नैतिक आचरण र राजनीतिक निष्ठाबाट परिलक्षित हुनेछ ।
५.    म सामाजिक न्याय, सकारात्मक विभेद र समानुपातिक समावेशी सिद्धान्तमा बिश्वास गर्दै अगाडि बढ्न तयार छु ।
६.    म शान्तिपूर्ण अभियान, सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासनप्रति प्रतिवद्ध छु ।
७.    म नेपाली समाजको विविधताहरु हाम्रा अमूल्य निधि र सम्पन्नताका आधार हुन भन्ने कुरालाई स्वीकार गर्दै विविधतामा एकता, सामाजिक सद्भाव र भाईचारा बृद्धिकालागि क्रियाशील हुनेछु ।
८. म सबै भाषा, धर्म, सम्प्रदाय र संस्कृतिको सम्मान गर्दछु । फरक जाति, धर्म, लिङ्ग, वर्ण, विचार, संस्कृति र रंगका आधारमा म कसैप्रति भेदभाव गर्नेछैन ।
९.    म सदैव सकारात्मक सोचबाट काम गर्नेछु । म हमेशा समयको पालना गर्नेछु ।
१०. म आफ्नो जीवनशैली सरल, शिष्टतापूर्ण र विनयशील बनाउनेछु । म व्यक्तिगत जीवन, राजनीतिक अभियान तथा संगठनका गतिविधिहरु धेरै खर्चिला र तडकभडकपूर्ण बनाउनेछैन ।
११.    म परिवर्तनको सुरुवात आफैंबाट गर्न चाहन्छु । म नयाँ भए अरु नयाँ हुन्छन् र नयाँ शक्ति बन्छ भन्ने कुरामा म विश्वस्त छु ।
१२.    म श्रमको सम्मान गर्दछु । विना श्रमको कमाई खानु हुँदैन भन्ने मान्यता राख्दछु । आफू कुनै न कुनै श्रममा नियमित सहभागी हुनेछु ।
१३. मेरो लागि राजनीति पेशा नभई सेवा हुनेछ । म जीविकोपार्जनको लागि छुट्टै पेशा, व्यवसाय वा आयआर्जनको व्यवस्था गर्नेछु । म व्यक्तिगत स्वार्थ बाझिने गतिविधि गर्नेछैन ।
१४.    म सबैका आर्थिक, सामाजिक तथा राजनीतिक अधिकारहरुको सम्मान र दण्डहीनताको अन्त्यकालागि प्रतिवद्ध र सक्रिय रहनेछु ।
१५.    म महिला हिंसा, बालश्रमशोषण, जातीय छुवाछुत, आर्थिक शोषण, बालविवाह, दाईजो, वहुविवाह, भ्रष्टाचार, स्थानीय स्रोत साधनको दुरुपयोग, करछली, सरकारी सम्पत्तिको अपचलन कहिल्यै गर्नेछैन । यस्ता बिषयमा शून्यसहनशीलता अपनाउनेछु ।
१६.    म जे बोल्छु त्यसलाई पूरा गर्न क्रियाशील हुनेछु ।
१७.    म जबर्जस्ती चन्दा संकलन गर्नेछैन । आममानिसको सद्भावस्वरुप प्राप्त स्रोतसाधनलाई व्यक्तिगत प्रयोजनमा खर्च गर्नेछैन ।
१८.    म आफ्ना सम्पूर्ण आर्थिक, राजनीतिक तथा सामाजिक गतिविधिहरु जनमुखी, पारदर्शी र उत्तरदायी बनाउनेछु ।
२०.    म सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीबाट निर्देशित हुनेछु । कहिल्यै पनि गुटगत गतिविधिमा लाग्नेछैन । पार्टी निर्णयहरु पूरा गर्न प्रतिवद्ध हुनेछु । आफ्ना विचारहरु निर्धक्कसाथ राख्नेछु ।
२१.    म पराजयमा आत्तिने र विजयमा उत्ताउलो हुनेछैन । सबै अवस्थामा जनतासँग एकाकार हुनेछु ।
२२.    म आफ्नो जीवनलाई जनताको निरन्तर निगरानीमा राख्न तयार छु । म सुन्न, सिक्न र नयाँ विचारहरु प्रयोग गर्न सदैव जागरुक हुनेछु ।
२३.    म पर्यावरणमा प्रतिकूल असर पर्ने कुनै पनि नीतिगत तथा व्यवहारिक गतिविधि गर्नेछैन ।
२४.    म हाम्रो आफ्नै स्रोत र उर्जावान श्रमशक्तिमार्फत राष्ट्रिय समृद्धि सम्भव छ भन्ने कुरामा विश्वास गर्दछु । यसमा म गौरव गर्छु र क्रियाशील हुनेछु ।
२५.    म आफ्नो राष्ट्रिय गौरव, स्वाभिमान, एकता र पहिचानलाई सदैव उँचो बनाउनेछु । म छिमेकी मुलुकहरुप्रति पञ्चशीलका आधारमा सर्वस्वीकार्य मूल्य, मान्यता र सिद्धान्तसहित मित्रवत रहनेछु ।
२६. म अन्तरपार्टी लोकतन्त्र, पार्टीभित्र सदस्यको सर्वोच्चता र स्वतन्त्रतालाई कहिल्यै अवमूल्यन गर्नेछैन ।
२७. म नयाँ शक्ति, नेपाल मार्फत स्वाधीन, समावेशी, सदाचारपूर्ण, समृद्ध र सुशासित नेपाल बनाउन सदैव प्रतिवद्ध छु ।
२८. म फरक विचार सुन्न तयार रहनेछु । आफ्ना विचारहरु शिष्टतापूर्वक राख्नेछु ।
२९. म आफू बदलिन, सिक्न र अगाडि बढ्न तयार रहनेछु ।
३०. म समूहमा संलग्न हुन, सामूहिक भावनाको सम्मान गर्न र नयाँ शक्ति निर्माण अभियानमा सामूहिक लक्ष्यकालागि क्रियाशील हुन प्रतिवद्ध रहनेछु ।
 
नयाँ शक्ति, नेपालको प्रतिबद्धता : पाँच ‘स’

नयाँ शक्ति, नेपाल एउटा पार्टी मात्र नभएर नयाँ युगको नयाँ आवश्यकता पूर्ति गर्ने वैकल्पिक राजनीतिक धार वा प्रवृत्ति हो । यो समाजवाद उन्मुख वाम–लोकतान्त्रिक शक्ति हुनेछ । यसका प्रमुख प्रतिबद्धताहरुलाई पाँच ‘स’को रुपमा यसरी परिभाषित गरिएको छ :

१. स्वाधीनता

नेपालको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा र संवद्र्धन हाम्रो पहिलो प्रतिवद्धता हो । देश र जनताको पूर्ण स्वाधीनता र मुक्तिलाई हामी सधैं अग्रस्थानमा राख्नेछौं । भारत र चीन जस्ता दुई ठूला देशहरुको बीचमा रहेको विशिष्ट भूराजनीतिक अवस्थितिलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै देशको गौरव बढाउने युगसापेक्ष राष्ट्रिय सुरक्षा र विदेश नीति अवलम्बन गरिनेछ । त्यस निम्ति पुरानो ‘दुई ढुंगा बीचको तरुल’को बिम्बको सट्टा ‘दुई विकसित छिमेकी बीचको गतिशील पुल’को नयाँ बिम्ब निर्माण गर्दै दुवैको तीव्र आर्थिक विकासबाट लाभ लिने र छिटो समृद्ध र अन्तरनिर्भर बन्ने नीति अनुसरण गरिनेछ । आन्तरिक राष्ट्रिय एकता र आर्थिक समृद्धि कायम गरेर विगतदेखि रहँदै आएको परनिर्भरताको अन्त्य गर्ने ‘प्रगतिशील राष्ट्रवाद’को पक्षपोषण गरिनेछ । संसारका सबै देशसंग समानता र पारस्परिक हितका आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम गरेर विश्व शान्तिको निम्ति योगदान गरिनेछ ।

२. समतामूलक समृद्धि

नयाँ शक्तिको मुख्य लक्ष्य र औचित्य हाम्रै जीवनकालमा नेपाललाई समृद्ध र सुखी मुलुकमा रुपान्तरण गर्नु हो । हामी चाहन्छौं– दश वर्षभित्र देशबाट निरपेक्ष गरीबी र बेरोजगराीको अन्त्य होस्; बीस वर्षभित्र देश मध्यमस्तरको विकासको स्तरमा पुगोस्; चालिस वर्षमा नेपाल समृद्धिको शिखरमा पुगोस् । हामी रोजगारी र सामाजिक न्याय सहितको तीव्र आर्थिक वृद्धिको नीति अनुसरण गर्नेछौं । त्यसनिम्ति विज्ञहरु र निजी क्षेत्र सहितको संलग्नतामा आर्थिक विकास र समृद्धिको कार्ययोजना तयार गरेर युद्धस्तरमा कार्यान्वयन गरिनेछ । साथै विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा समन्यायिक ढंगले पुर्‍याउने; निजी क्षेत्र र राज्यको समुचित सहकार्य हुने; कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित योगदान हुने; स्वदेशी र विदेशी लगानी तथा श्रम र प्रविधिको उचित संयोजन हुने; विकास र वातावरणको सन्तुलन कायम हुने गरी मौलिक र व्यवहारिक विकास नीति अनुसरण गरिनेछ । भौतिक समृद्धि सँगसँगै मानसिक सुख–शान्ति प्राप्तिमा यथोचित ध्यान दिइनेछ । हामी फोस्रा नारा र भाषणमा हैन व्यवहारमा समृद्ध र समतामूलक नेपाल बनाउँनेछौं ! सुदूर भविष्यमा हैन हाम्रै जीवनकालमा बनाउनेछौं !

३. समावेशी/समानुपातिक/सहभागितामू
लक लोकतन्त्र

नयाँ शक्तिको अर्को महत्वपूर्ण प्रतिवद्धता पार्टी र राज्यका क्षेत्रमा हाल विद्यमान औपचारिक र कर्मकाण्डी लोकतन्त्रलाई आधुनिक युग र देशको विशिष्टता अनुरुप समावेसी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा रुपान्तरण गर्नु र त्यसको व्यवहारिक अभ्यास गर्नु हो । हामी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्रका आधारभूत मान्यताप्रति पूर्ण प्रतिबद्ध रहनेछौं । हामी पार्टी र राज्यका सबै अंगमा हिमाल, पहाड, तराई/मधेसका विविध वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको समावेसी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नेछौं । ऊर्जाशील युवाहरुको प्रतिनिधित्व सबै ठाउँमा गराउन विशेष ध्यान दिनेछौं । हामी अहिलेसम्मका पार्टी र राज्यको अति–केन्द्रीकृत नोकरशाही चरित्रको अन्त्य गर्न प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्र (Direct & Participatory Democracy) को अभ्यास गर्नेछौं । सबै कमिटीहरुमा प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्नेछौं । पार्टी र राज्यका अंगमा केही व्यक्ति र परिवारको एकाधिकार र मनोमानी अन्त्य गर्न एक व्यक्ति एक कार्यकारी पद र दुई कार्यकाल, निर्वाचनमा अस्वीकारको व्यवस्था (Right to Reject), निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने हक (Right to Recall) आदि नवीन प्रयोगहरु गर्नेछौं ।

वर्तमान ‘नेपालको संविधान’मा अपनाइएको मिश्रित निर्वाचन प्रणाली र संसदीय शासकीय प्रणालीले देशमा राजनीतिक स्थीरता दिन सक्दैन र राजनीतिक स्थीरता बिना आर्थिक विकास र समृद्धि असम्भव हुन्छ । यो प्रणाली बदल्नैपर्छ र त्यसनिम्ति तुरुन्त संविधान संशोधन गर्नैपर्दछ । यसकालागि नयाँ शक्ति, नेपालले व्यवस्थापिका र कार्यपालिकाको भूमिका अलग गरी व्यवस्थापिका–संसदकालागि पूर्णरुपले समानुपातिक निर्वाचन प्रणाली र कार्यपालिकाको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउन देशव्यापी अभियान चलाउनेछ ।

४. सुशासन/सदाचार

नयाँ शक्ति, नेपाललाई पुराना शक्तिहरुबाट व्यवहारिक रुपमा छुट्याउने मुख्य कसी सुशासन र सदाचार हो । किनकि अहिले नेपालमा राजनीति र भ्रष्टाचार पर्यायवाची जस्तै बनेका छन् । कतिपय पछिल्ला सर्भेक्षणहरुले राजनीतिक दल र नेताहरु सबभन्दा भ्रष्टाचारी भएको पुष्टि गरेका छन् । त्यसपछि कर्मचारी प्रशासन, न्यायालय र सुरक्षा अंगहरु भ्रष्टाचार र अनियमितताको केन्द्र बनेका छन् । तसर्थ राजनीति र सरकारी सेवालाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासन र सदाचार कायम गर्नु नयाँ शक्ति, नेपालको सबभन्दा महत्वपूर्ण कार्यभार हुनेछ । यसक्रममा सबभन्दा पहिले हामी राजनीतिलाई एउटा निजी व्यवसाय हैन स्वैच्छिक सामाजिक सेवाको रुपमा स्थापित गर्नेछौं । हामी हाम्रा सबै गतिविधि र आर्थिक कारोबारमा पारदर्शिता, जवाफदेहिता, विधिको शासन र भ्रष्टाचारप्रति शून्य–सहनशीलता कायम गर्नेछौं । हाम्रा नेता र कार्यकर्ताहरुमाथि कुनै भ्रष्टाचार, दुराचार र अनियमितताको आरोप पुष्टि भएमा तत्काल कडा कार्वाही गर्नेछौं । सादा जीवन, सरल व्यवहार, श्रमको सम्मान, सामाजिक सद्भाव र उन्नत संस्कृति नयाँ शक्ति, नेपालको सांस्कृतिक पहिचान हुनेछ । हाम्रा कामकारवाहीहरुको मूल्यांकन गर्न र हाम्रा नेता/कार्यकर्तामाथि लागेका सार्वजनिक आरोपहरुको छानविन गर्न हामीले विभिन्न तहमा स्वतन्त्र र निष्पक्ष लोकपाल समूह (Ombudsman Group) गठन गर्नेछौं । जसका निर्णयहरुलाई हामीले नि:शर्त कार्यान्वयन गर्नेछौं । हामी जे भन्छौं, त्यो गर्छौं । जे गर्छौं त्यो स्वार्थरहित, जनताको हितमा गर्छौं ।

५. समुन्नत समाजवाद

नेपाली समाज भर्खरै मात्रै निरंकुश, एकात्मक सामन्ती युगबाट पूँजीवादी युगमा प्रवेश गरेको छ । परन्तु आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा अझै पनि सामन्ती अवशेषहरु बाँकी छन् । ती सामन्ती अवेशषहरुको अन्त्य गर्दै राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्ने र पूँजीवादी लोकतन्त्रलाई अझै विकसित र परिमार्जित गर्ने हाम्रो तत्कालीन कार्यभार हो । तर वर्तमान भूमण्डलीकृत एकाधिकार पूँजीवादी विश्वमा हाम्रो जस्तो सानो अल्पविकसित देशमा स्वतन्त्र राष्ट्रिय औद्योगिक पूँजीवादको विकास सहज र सरल छैन । त्यसले परनिर्भर र दलाल चरित्र ग्रहण गर्ने र वर्गीय, क्षेत्रीय असमानता बढाउने सम्भावना बढी हुन्छ । अत: विकसित हुँदै गरेको राष्ट्रिय औद्योगिक पूँजीवादलाई समाजवादको दिशामा उन्मुख गराउनु आवश्यक हुन्छ । सबैलाई शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गर्नु र सामाजिक सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व हुनुपर्छ । परन्तु बिसौं शताब्दीमा प्रयोग गरिएका राज्य–नियन्त्रित वा नोकरशाही समाजवादका मोडेलहरुको पुनरावृत्ति अब सम्भव छैन । त्यसैले नयाँ शक्ति, नेपालले एक्काइसौं शताब्दीको आवश्यकता र नेपालको विशिष्टता अनुरुपको समुन्नत समाजवादको नयाँ मोडेल विकास गर्नेछ । माक्र्सद्वारा प्रतिपादित र अन्य चिन्तकहरुद्वारा समृद्ध द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तनप्रणालीबाट अघि बढेर त्यसको विकास गर्ने प्रयत्न गरिनेछ । त्यो कुनै माथिबाट लादिएको, गरिबी बाँड्ने, व्यक्तिको निजत्व कुण्ठित गर्ने नोकरशाही समाजवाद होइन परन्तु तलैबाट उठेको, समृद्धि बाँड्ने, व्यक्तिको निजत्व प्रष्फुटित गर्ने सहभागितामूलक समाजवाद हुनेछ । नयाँ शक्तिले तत्काल उद्यमशील राष्ट्रिय औद्योगिक पूँजीको विकासमा जोड दिँदै समुन्नत समाजवादको आधार तयार गर्नेछ । नयाँ शक्ति, नेपाल कुनै विचार विहीन झुण्ड नभएर मानव जातिले आविष्कार गरेका पछिल्ला ज्ञान र विज्ञानलाई अंगीकार गरेर निरन्तर अगाडि बढ्ने अग्रगामी प्रगतिशील शक्ति हुनेछ ।

No comments:

Post a Comment