Saturday, February 6, 2016

कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन हुँदै, आफ्ना प्रतिनिधि जिताउन कोइराला र देउवा पक्ष सक्रिय


काठमाडौं, माघ २२ – 
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको लागि शुक्रबार क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँदैछ । कांग्रेसले संविधानसभाको निर्वाचनमा कायम दुई सय ४० निर्वाचन क्षेत्रानुसार नै क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न लागेको हो ।

बारा बाहेक अरु धेरै जिल्लाका दुई सय २० निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको चुनाव हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो । एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी २० निर्वाचन क्षेत्रमा भने माघ २५ गते निर्वाचन हुने उहाँले बताउनुभयो ।

माघ १५ गते गाउँ, नगर वडा र नगरको अधिवेशन गरेको कांग्रेसले क्षेत्रीय अधिवेशन तथा महाधिवशेन प्रतिनिधिको निर्वाचन आज र जिल्ला अधिवेशन आउँदो २५ गते गर्ने तालिका सार्वजनिक गरेको छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुने संयोजक अधिकारीले बताउनुभयो ।    
गाउँ र नगरको निर्वाचनबाट चुनिएका क्षेत्रीय प्रतिनिधि र स्थानीय नेतृत्वले पार्टीको क्षेत्रीय र जिल्लाको नेतृत्व एवम् महाधिवेशन प्रतिनिधिको चयन गर्ने केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था कांग्रेस विधानमा छ ।
कांग्रेसमा केन्द्रीय कार्यसमितिका ८५, दुई सय ४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुने दुई हजार ८ सय ८० र विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने गरी जम्मा तीन हजार दुई सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुने सचिव पराजुलीले जानकारी दिनुभयो ।
महाधिवेशन प्रतिनिधिले केन्द्रको नेतृत्व चयन गर्ने भएकाले सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता आआफ्ना पक्षमा निर्वाचन परिणाम ल्याउन सक्रिय रूपमा लागेका छन् ।      

तल्लो तहमा देखिएको युवा वर्चस्व केन्द्रमा देखिएला ?

कांग्रेसको सबैभन्दा तल्लो निकाय गाउँ र नगर अधिवेशन एकाध ठाउँ बाहेक अन्यत्र सकिएको छ । युवा वर्गलाई उचित स्थान दिन नसकेको आरोप खेप्दै आएको कांग्रेसमा योपटक स्थानीय प्रतिनिधिमा उल्लेख्य संख्यामा युवाहरु चुनिएका छन् ।
पुरानो लोकतान्त्रिक पार्टी भए पनि कांग्रेसलाई पाका र वृद्धको पार्टीका रुपमा चिनिँदै आएको छ । गाउँ र नगरबाट आएका युवा पंक्तिको प्रभाव बलियो देखिए पनि फागुन अन्तिम हप्ता हुने केन्द्रीय महाधिवेशनमा भने युवाले कत्तिको ठाउँ पाउँछन् यो भने चासोको विषय बनेको छ ।
तल्लो इकाइबाट युवाको उपस्थित बलियो भएसँगै केन्द्रिय नेतृत्वमा पनि युवाको बाहुल्यता बलियो हुनुपर्ने आवाज सशक्त रुपमा उठ्न थालेको छ । युवा नेता रामहरि खतिवडा १३ औं महाधिवेशनले पार्टीमा युवाको उपस्थिति बलियो हुने दाबी गर्नुहुन्छ ।
‘हामीले पुराना नेताहरुले धेरै स्थान दिइसकेका छौं । अब कांग्रेस भनेको युवाको पनि हो भन्ने प्रमाणित हुने बेला आएको छ’ खतिवडा भन्नुहुन्छ ‘धेरै युवा आइसकेकाले अब नेतृत्व भनेको लठ्ठी खोजेर ठीक पारिदिनु पर्ने, पत्रिका पढेर सुनाउनु पर्ने र हिँड्ने बेलामा जुत्ता खोजेर दिनुपर्ने पुस्ताको वर्चस्व कम हुन्छ ।’

अघिल्लो महाधिवेशनले ८५ सदस्यीय केन्द्रीय कार्य समितिमा युवाहरुको उपस्थिति केही बलियो बनाए पनि हस्तक्षेपकारी हुन सकेको थिएन । महाधिवेशन नजिकिँदै जाँदा सभापतिलगायत अरु पदमा पनि पुरानै नेताले दाबी गरेकाले युवा पंक्ति भर्‍याङ मात्र बन्ने हुन्की भन्ने आशंका पनि उत्तिकै छ । सभापतिमा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले भिड्ने मनस्थिति बनाएका छन् भने अरु ठूला नेताहरु पनि पदाधिकारीमा आफ्नो स्थान सुरक्षित गर्नैका लागि तुरुपको रुपमा सभापितको उम्मेद्वार बन्ने बताउन थालेका छन् ।
तर, अब तीन पुस्ताका नेताको संयोजनबाट मात्र कांग्रेस चल्ने बताउनुहुन्छ अर्का युवा नेता विश्वप्रकाश शर्मा । बृद्ध उमेर भइसक्दा पनि पार्टीको पद ओगटरे बस्नु कांग्रेसको परम्परा नै बसिसकेको छ ।

१३ औं महाधिवेशनमा युवा वर्गले पार्टीको मुख्य पद नपाए पनि केन्द्रीय कार्यसमितिमा हस्तक्षेप गर्ने गरी उनीहरुको उपस्थिति हुनेमा आशंका गर्नुहुन्छ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य । तल्लो तहमा देखिएको युवाको लहर माथिल्लो तहसम्म उही रापतापका साथ नआउने आचार्यको विश्लेषण छ ।

उहाँ भन्नुहुन्छ, ‘पार्टीको तल्लो तहमा युवाको प्रभुत्व देखिए पनि विभिन्न कारणले माथिसम्म आइपुग्दा छिन्नभिन्न हुन्छ । तर, योपटक विगतमा भन्दा कांग्रेसमा युवाको उपस्थिति बलियो हुने विश्वास गर्न सकिन्छ ।’
पुराना नेताले आजीवन नेतृत्व तहमै बस्ने इच्छा राख्दाा कांग्रेसमा क्षमतावान हजारौं युवा निराश बनेका छन् । पाका नेता अभिभावकका रुपमा बसे नयाँ जोस र ऊर्जाका साथ पार्टी हाँक्न नयाँ पुस्ता आतुर छन् ।

No comments:

Post a Comment