Saturday, February 6, 2016

नयाँ शक्तिको आचार संहिता : समयको पालना गर्ने, विना श्रमको कमाई नखाने

काठमाडौं, माघ २३ -
 पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नयाँ शक्तिले आचार संहिता र प्रद्धिबद्धता सार्वजनिक गरेको छ । शनिबार बसेको अन्तरिम केन्द्रीय परिषदले आचार संहिता र प्रतिबद्धता सार्वजनिक गरेको छ । जुन यस प्रकार छ :
नयाँ शक्ति, नेपालको अन्तरिम केन्द्रीय परिषदको बैठकमा प्रस्तुत आचारसंहिता तथा ५‘स’को प्रतिवद्धता

नयाँ शक्ति, नेपाल
नयाँ शक्ति, नेपालका सबै तहमा क्रियाशील अभियन्ताहरुकालागि आचारसंहिता

म नयाँ शक्ति,नेपालको अभियन्ता हुँ । म नेपाली राजनीतिमा परिवर्तन चाहन्छु.। यसकालागि म आफैंबाट परिवर्तनको सुरुवात गर्दछु ।  त्यसैले म निम्न आचारसंहिता पालना गर्न प्रतिवद्ध छु :

१.     नेपालमा भएका ऐतिहासिक राजनीतिक उपलव्धीहरुको म हृदयदेखि नै सम्मान गर्दछु ।
२.    यसकालागि महान शहीदहरुको योगदानको स्मरण गर्दै उहाँहरुको जीवन उत्सर्गको मूल्य र मान्यताबाट सदैव प्रेरित भइरहने छु । म शहीदको सपना पूरा गर्न प्रतिवद्ध छु ।
३.    म हरेक मान्छेको सार्वभौमिक स्वतन्त्रतालाई सम्मान गर्दछु । म मानवअधिकारको विश्वव्यापी मान्यताबाट निर्देशित भई नयाँशक्तिको राजनीतिक अभियानमा संलग्न हुनेछु ।
४.    म राजनीतिलाई अस्वस्थ विरोध, गालीगलौज र ध्वंसबाट नभई सकारात्मक पहल, आपसी सम्मान र प्रतिस्पर्धाबाट सु–सज्जित गर्न चाहन्छु । मेरो राजनीतिक संलग्नता उच्च नैतिक आचरण र राजनीतिक निष्ठाबाट परिलक्षित हुनेछ ।
५.    म सामाजिक न्याय, सकारात्मक विभेद र समानुपातिक समावेशी सिद्धान्तमा बिश्वास गर्दै अगाडि बढ्न तयार छु ।
६.    म शान्तिपूर्ण अभियान, सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासनप्रति प्रतिवद्ध छु ।
७.    म नेपाली समाजको विविधताहरु हाम्रा अमूल्य निधि र सम्पन्नताका आधार हुन भन्ने कुरालाई स्वीकार गर्दै विविधतामा एकता, सामाजिक सद्भाव र भाईचारा बृद्धिकालागि क्रियाशील हुनेछु ।
८. म सबै भाषा, धर्म, सम्प्रदाय र संस्कृतिको सम्मान गर्दछु । फरक जाति, धर्म, लिङ्ग, वर्ण, विचार, संस्कृति र रंगका आधारमा म कसैप्रति भेदभाव गर्नेछैन ।
९.    म सदैव सकारात्मक सोचबाट काम गर्नेछु । म हमेशा समयको पालना गर्नेछु ।
१०. म आफ्नो जीवनशैली सरल, शिष्टतापूर्ण र विनयशील बनाउनेछु । म व्यक्तिगत जीवन, राजनीतिक अभियान तथा संगठनका गतिविधिहरु धेरै खर्चिला र तडकभडकपूर्ण बनाउनेछैन ।
११.    म परिवर्तनको सुरुवात आफैंबाट गर्न चाहन्छु । म नयाँ भए अरु नयाँ हुन्छन् र नयाँ शक्ति बन्छ भन्ने कुरामा म विश्वस्त छु ।
१२.    म श्रमको सम्मान गर्दछु । विना श्रमको कमाई खानु हुँदैन भन्ने मान्यता राख्दछु । आफू कुनै न कुनै श्रममा नियमित सहभागी हुनेछु ।
१३. मेरो लागि राजनीति पेशा नभई सेवा हुनेछ । म जीविकोपार्जनको लागि छुट्टै पेशा, व्यवसाय वा आयआर्जनको व्यवस्था गर्नेछु । म व्यक्तिगत स्वार्थ बाझिने गतिविधि गर्नेछैन ।
१४.    म सबैका आर्थिक, सामाजिक तथा राजनीतिक अधिकारहरुको सम्मान र दण्डहीनताको अन्त्यकालागि प्रतिवद्ध र सक्रिय रहनेछु ।
१५.    म महिला हिंसा, बालश्रमशोषण, जातीय छुवाछुत, आर्थिक शोषण, बालविवाह, दाईजो, वहुविवाह, भ्रष्टाचार, स्थानीय स्रोत साधनको दुरुपयोग, करछली, सरकारी सम्पत्तिको अपचलन कहिल्यै गर्नेछैन । यस्ता बिषयमा शून्यसहनशीलता अपनाउनेछु ।
१६.    म जे बोल्छु त्यसलाई पूरा गर्न क्रियाशील हुनेछु ।
१७.    म जबर्जस्ती चन्दा संकलन गर्नेछैन । आममानिसको सद्भावस्वरुप प्राप्त स्रोतसाधनलाई व्यक्तिगत प्रयोजनमा खर्च गर्नेछैन ।
१८.    म आफ्ना सम्पूर्ण आर्थिक, राजनीतिक तथा सामाजिक गतिविधिहरु जनमुखी, पारदर्शी र उत्तरदायी बनाउनेछु ।
२०.    म सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीबाट निर्देशित हुनेछु । कहिल्यै पनि गुटगत गतिविधिमा लाग्नेछैन । पार्टी निर्णयहरु पूरा गर्न प्रतिवद्ध हुनेछु । आफ्ना विचारहरु निर्धक्कसाथ राख्नेछु ।
२१.    म पराजयमा आत्तिने र विजयमा उत्ताउलो हुनेछैन । सबै अवस्थामा जनतासँग एकाकार हुनेछु ।
२२.    म आफ्नो जीवनलाई जनताको निरन्तर निगरानीमा राख्न तयार छु । म सुन्न, सिक्न र नयाँ विचारहरु प्रयोग गर्न सदैव जागरुक हुनेछु ।
२३.    म पर्यावरणमा प्रतिकूल असर पर्ने कुनै पनि नीतिगत तथा व्यवहारिक गतिविधि गर्नेछैन ।
२४.    म हाम्रो आफ्नै स्रोत र उर्जावान श्रमशक्तिमार्फत राष्ट्रिय समृद्धि सम्भव छ भन्ने कुरामा विश्वास गर्दछु । यसमा म गौरव गर्छु र क्रियाशील हुनेछु ।
२५.    म आफ्नो राष्ट्रिय गौरव, स्वाभिमान, एकता र पहिचानलाई सदैव उँचो बनाउनेछु । म छिमेकी मुलुकहरुप्रति पञ्चशीलका आधारमा सर्वस्वीकार्य मूल्य, मान्यता र सिद्धान्तसहित मित्रवत रहनेछु ।
२६. म अन्तरपार्टी लोकतन्त्र, पार्टीभित्र सदस्यको सर्वोच्चता र स्वतन्त्रतालाई कहिल्यै अवमूल्यन गर्नेछैन ।
२७. म नयाँ शक्ति, नेपाल मार्फत स्वाधीन, समावेशी, सदाचारपूर्ण, समृद्ध र सुशासित नेपाल बनाउन सदैव प्रतिवद्ध छु ।
२८. म फरक विचार सुन्न तयार रहनेछु । आफ्ना विचारहरु शिष्टतापूर्वक राख्नेछु ।
२९. म आफू बदलिन, सिक्न र अगाडि बढ्न तयार रहनेछु ।
३०. म समूहमा संलग्न हुन, सामूहिक भावनाको सम्मान गर्न र नयाँ शक्ति निर्माण अभियानमा सामूहिक लक्ष्यकालागि क्रियाशील हुन प्रतिवद्ध रहनेछु ।
 
नयाँ शक्ति, नेपालको प्रतिबद्धता : पाँच ‘स’

नयाँ शक्ति, नेपाल एउटा पार्टी मात्र नभएर नयाँ युगको नयाँ आवश्यकता पूर्ति गर्ने वैकल्पिक राजनीतिक धार वा प्रवृत्ति हो । यो समाजवाद उन्मुख वाम–लोकतान्त्रिक शक्ति हुनेछ । यसका प्रमुख प्रतिबद्धताहरुलाई पाँच ‘स’को रुपमा यसरी परिभाषित गरिएको छ :

१. स्वाधीनता

नेपालको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा र संवद्र्धन हाम्रो पहिलो प्रतिवद्धता हो । देश र जनताको पूर्ण स्वाधीनता र मुक्तिलाई हामी सधैं अग्रस्थानमा राख्नेछौं । भारत र चीन जस्ता दुई ठूला देशहरुको बीचमा रहेको विशिष्ट भूराजनीतिक अवस्थितिलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै देशको गौरव बढाउने युगसापेक्ष राष्ट्रिय सुरक्षा र विदेश नीति अवलम्बन गरिनेछ । त्यस निम्ति पुरानो ‘दुई ढुंगा बीचको तरुल’को बिम्बको सट्टा ‘दुई विकसित छिमेकी बीचको गतिशील पुल’को नयाँ बिम्ब निर्माण गर्दै दुवैको तीव्र आर्थिक विकासबाट लाभ लिने र छिटो समृद्ध र अन्तरनिर्भर बन्ने नीति अनुसरण गरिनेछ । आन्तरिक राष्ट्रिय एकता र आर्थिक समृद्धि कायम गरेर विगतदेखि रहँदै आएको परनिर्भरताको अन्त्य गर्ने ‘प्रगतिशील राष्ट्रवाद’को पक्षपोषण गरिनेछ । संसारका सबै देशसंग समानता र पारस्परिक हितका आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम गरेर विश्व शान्तिको निम्ति योगदान गरिनेछ ।

२. समतामूलक समृद्धि

नयाँ शक्तिको मुख्य लक्ष्य र औचित्य हाम्रै जीवनकालमा नेपाललाई समृद्ध र सुखी मुलुकमा रुपान्तरण गर्नु हो । हामी चाहन्छौं– दश वर्षभित्र देशबाट निरपेक्ष गरीबी र बेरोजगराीको अन्त्य होस्; बीस वर्षभित्र देश मध्यमस्तरको विकासको स्तरमा पुगोस्; चालिस वर्षमा नेपाल समृद्धिको शिखरमा पुगोस् । हामी रोजगारी र सामाजिक न्याय सहितको तीव्र आर्थिक वृद्धिको नीति अनुसरण गर्नेछौं । त्यसनिम्ति विज्ञहरु र निजी क्षेत्र सहितको संलग्नतामा आर्थिक विकास र समृद्धिको कार्ययोजना तयार गरेर युद्धस्तरमा कार्यान्वयन गरिनेछ । साथै विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा समन्यायिक ढंगले पुर्‍याउने; निजी क्षेत्र र राज्यको समुचित सहकार्य हुने; कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित योगदान हुने; स्वदेशी र विदेशी लगानी तथा श्रम र प्रविधिको उचित संयोजन हुने; विकास र वातावरणको सन्तुलन कायम हुने गरी मौलिक र व्यवहारिक विकास नीति अनुसरण गरिनेछ । भौतिक समृद्धि सँगसँगै मानसिक सुख–शान्ति प्राप्तिमा यथोचित ध्यान दिइनेछ । हामी फोस्रा नारा र भाषणमा हैन व्यवहारमा समृद्ध र समतामूलक नेपाल बनाउँनेछौं ! सुदूर भविष्यमा हैन हाम्रै जीवनकालमा बनाउनेछौं !

३. समावेशी/समानुपातिक/सहभागितामू
लक लोकतन्त्र

नयाँ शक्तिको अर्को महत्वपूर्ण प्रतिवद्धता पार्टी र राज्यका क्षेत्रमा हाल विद्यमान औपचारिक र कर्मकाण्डी लोकतन्त्रलाई आधुनिक युग र देशको विशिष्टता अनुरुप समावेसी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा रुपान्तरण गर्नु र त्यसको व्यवहारिक अभ्यास गर्नु हो । हामी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्रका आधारभूत मान्यताप्रति पूर्ण प्रतिबद्ध रहनेछौं । हामी पार्टी र राज्यका सबै अंगमा हिमाल, पहाड, तराई/मधेसका विविध वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको समावेसी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नेछौं । ऊर्जाशील युवाहरुको प्रतिनिधित्व सबै ठाउँमा गराउन विशेष ध्यान दिनेछौं । हामी अहिलेसम्मका पार्टी र राज्यको अति–केन्द्रीकृत नोकरशाही चरित्रको अन्त्य गर्न प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्र (Direct & Participatory Democracy) को अभ्यास गर्नेछौं । सबै कमिटीहरुमा प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्नेछौं । पार्टी र राज्यका अंगमा केही व्यक्ति र परिवारको एकाधिकार र मनोमानी अन्त्य गर्न एक व्यक्ति एक कार्यकारी पद र दुई कार्यकाल, निर्वाचनमा अस्वीकारको व्यवस्था (Right to Reject), निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने हक (Right to Recall) आदि नवीन प्रयोगहरु गर्नेछौं ।

वर्तमान ‘नेपालको संविधान’मा अपनाइएको मिश्रित निर्वाचन प्रणाली र संसदीय शासकीय प्रणालीले देशमा राजनीतिक स्थीरता दिन सक्दैन र राजनीतिक स्थीरता बिना आर्थिक विकास र समृद्धि असम्भव हुन्छ । यो प्रणाली बदल्नैपर्छ र त्यसनिम्ति तुरुन्त संविधान संशोधन गर्नैपर्दछ । यसकालागि नयाँ शक्ति, नेपालले व्यवस्थापिका र कार्यपालिकाको भूमिका अलग गरी व्यवस्थापिका–संसदकालागि पूर्णरुपले समानुपातिक निर्वाचन प्रणाली र कार्यपालिकाको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउन देशव्यापी अभियान चलाउनेछ ।

४. सुशासन/सदाचार

नयाँ शक्ति, नेपाललाई पुराना शक्तिहरुबाट व्यवहारिक रुपमा छुट्याउने मुख्य कसी सुशासन र सदाचार हो । किनकि अहिले नेपालमा राजनीति र भ्रष्टाचार पर्यायवाची जस्तै बनेका छन् । कतिपय पछिल्ला सर्भेक्षणहरुले राजनीतिक दल र नेताहरु सबभन्दा भ्रष्टाचारी भएको पुष्टि गरेका छन् । त्यसपछि कर्मचारी प्रशासन, न्यायालय र सुरक्षा अंगहरु भ्रष्टाचार र अनियमितताको केन्द्र बनेका छन् । तसर्थ राजनीति र सरकारी सेवालाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासन र सदाचार कायम गर्नु नयाँ शक्ति, नेपालको सबभन्दा महत्वपूर्ण कार्यभार हुनेछ । यसक्रममा सबभन्दा पहिले हामी राजनीतिलाई एउटा निजी व्यवसाय हैन स्वैच्छिक सामाजिक सेवाको रुपमा स्थापित गर्नेछौं । हामी हाम्रा सबै गतिविधि र आर्थिक कारोबारमा पारदर्शिता, जवाफदेहिता, विधिको शासन र भ्रष्टाचारप्रति शून्य–सहनशीलता कायम गर्नेछौं । हाम्रा नेता र कार्यकर्ताहरुमाथि कुनै भ्रष्टाचार, दुराचार र अनियमितताको आरोप पुष्टि भएमा तत्काल कडा कार्वाही गर्नेछौं । सादा जीवन, सरल व्यवहार, श्रमको सम्मान, सामाजिक सद्भाव र उन्नत संस्कृति नयाँ शक्ति, नेपालको सांस्कृतिक पहिचान हुनेछ । हाम्रा कामकारवाहीहरुको मूल्यांकन गर्न र हाम्रा नेता/कार्यकर्तामाथि लागेका सार्वजनिक आरोपहरुको छानविन गर्न हामीले विभिन्न तहमा स्वतन्त्र र निष्पक्ष लोकपाल समूह (Ombudsman Group) गठन गर्नेछौं । जसका निर्णयहरुलाई हामीले नि:शर्त कार्यान्वयन गर्नेछौं । हामी जे भन्छौं, त्यो गर्छौं । जे गर्छौं त्यो स्वार्थरहित, जनताको हितमा गर्छौं ।

५. समुन्नत समाजवाद

नेपाली समाज भर्खरै मात्रै निरंकुश, एकात्मक सामन्ती युगबाट पूँजीवादी युगमा प्रवेश गरेको छ । परन्तु आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा अझै पनि सामन्ती अवशेषहरु बाँकी छन् । ती सामन्ती अवेशषहरुको अन्त्य गर्दै राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्ने र पूँजीवादी लोकतन्त्रलाई अझै विकसित र परिमार्जित गर्ने हाम्रो तत्कालीन कार्यभार हो । तर वर्तमान भूमण्डलीकृत एकाधिकार पूँजीवादी विश्वमा हाम्रो जस्तो सानो अल्पविकसित देशमा स्वतन्त्र राष्ट्रिय औद्योगिक पूँजीवादको विकास सहज र सरल छैन । त्यसले परनिर्भर र दलाल चरित्र ग्रहण गर्ने र वर्गीय, क्षेत्रीय असमानता बढाउने सम्भावना बढी हुन्छ । अत: विकसित हुँदै गरेको राष्ट्रिय औद्योगिक पूँजीवादलाई समाजवादको दिशामा उन्मुख गराउनु आवश्यक हुन्छ । सबैलाई शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गर्नु र सामाजिक सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व हुनुपर्छ । परन्तु बिसौं शताब्दीमा प्रयोग गरिएका राज्य–नियन्त्रित वा नोकरशाही समाजवादका मोडेलहरुको पुनरावृत्ति अब सम्भव छैन । त्यसैले नयाँ शक्ति, नेपालले एक्काइसौं शताब्दीको आवश्यकता र नेपालको विशिष्टता अनुरुपको समुन्नत समाजवादको नयाँ मोडेल विकास गर्नेछ । माक्र्सद्वारा प्रतिपादित र अन्य चिन्तकहरुद्वारा समृद्ध द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तनप्रणालीबाट अघि बढेर त्यसको विकास गर्ने प्रयत्न गरिनेछ । त्यो कुनै माथिबाट लादिएको, गरिबी बाँड्ने, व्यक्तिको निजत्व कुण्ठित गर्ने नोकरशाही समाजवाद होइन परन्तु तलैबाट उठेको, समृद्धि बाँड्ने, व्यक्तिको निजत्व प्रष्फुटित गर्ने सहभागितामूलक समाजवाद हुनेछ । नयाँ शक्तिले तत्काल उद्यमशील राष्ट्रिय औद्योगिक पूँजीको विकासमा जोड दिँदै समुन्नत समाजवादको आधार तयार गर्नेछ । नयाँ शक्ति, नेपाल कुनै विचार विहीन झुण्ड नभएर मानव जातिले आविष्कार गरेका पछिल्ला ज्ञान र विज्ञानलाई अंगीकार गरेर निरन्तर अगाडि बढ्ने अग्रगामी प्रगतिशील शक्ति हुनेछ ।

कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन हुँदै, आफ्ना प्रतिनिधि जिताउन कोइराला र देउवा पक्ष सक्रिय


काठमाडौं, माघ २२ – 
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको लागि शुक्रबार क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँदैछ । कांग्रेसले संविधानसभाको निर्वाचनमा कायम दुई सय ४० निर्वाचन क्षेत्रानुसार नै क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न लागेको हो ।

बारा बाहेक अरु धेरै जिल्लाका दुई सय २० निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको चुनाव हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो । एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी २० निर्वाचन क्षेत्रमा भने माघ २५ गते निर्वाचन हुने उहाँले बताउनुभयो ।

माघ १५ गते गाउँ, नगर वडा र नगरको अधिवेशन गरेको कांग्रेसले क्षेत्रीय अधिवेशन तथा महाधिवशेन प्रतिनिधिको निर्वाचन आज र जिल्ला अधिवेशन आउँदो २५ गते गर्ने तालिका सार्वजनिक गरेको छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुने संयोजक अधिकारीले बताउनुभयो ।    
गाउँ र नगरको निर्वाचनबाट चुनिएका क्षेत्रीय प्रतिनिधि र स्थानीय नेतृत्वले पार्टीको क्षेत्रीय र जिल्लाको नेतृत्व एवम् महाधिवेशन प्रतिनिधिको चयन गर्ने केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था कांग्रेस विधानमा छ ।
कांग्रेसमा केन्द्रीय कार्यसमितिका ८५, दुई सय ४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुने दुई हजार ८ सय ८० र विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने गरी जम्मा तीन हजार दुई सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुने सचिव पराजुलीले जानकारी दिनुभयो ।
महाधिवेशन प्रतिनिधिले केन्द्रको नेतृत्व चयन गर्ने भएकाले सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता आआफ्ना पक्षमा निर्वाचन परिणाम ल्याउन सक्रिय रूपमा लागेका छन् ।      

तल्लो तहमा देखिएको युवा वर्चस्व केन्द्रमा देखिएला ?

कांग्रेसको सबैभन्दा तल्लो निकाय गाउँ र नगर अधिवेशन एकाध ठाउँ बाहेक अन्यत्र सकिएको छ । युवा वर्गलाई उचित स्थान दिन नसकेको आरोप खेप्दै आएको कांग्रेसमा योपटक स्थानीय प्रतिनिधिमा उल्लेख्य संख्यामा युवाहरु चुनिएका छन् ।
पुरानो लोकतान्त्रिक पार्टी भए पनि कांग्रेसलाई पाका र वृद्धको पार्टीका रुपमा चिनिँदै आएको छ । गाउँ र नगरबाट आएका युवा पंक्तिको प्रभाव बलियो देखिए पनि फागुन अन्तिम हप्ता हुने केन्द्रीय महाधिवेशनमा भने युवाले कत्तिको ठाउँ पाउँछन् यो भने चासोको विषय बनेको छ ।
तल्लो इकाइबाट युवाको उपस्थित बलियो भएसँगै केन्द्रिय नेतृत्वमा पनि युवाको बाहुल्यता बलियो हुनुपर्ने आवाज सशक्त रुपमा उठ्न थालेको छ । युवा नेता रामहरि खतिवडा १३ औं महाधिवेशनले पार्टीमा युवाको उपस्थिति बलियो हुने दाबी गर्नुहुन्छ ।
‘हामीले पुराना नेताहरुले धेरै स्थान दिइसकेका छौं । अब कांग्रेस भनेको युवाको पनि हो भन्ने प्रमाणित हुने बेला आएको छ’ खतिवडा भन्नुहुन्छ ‘धेरै युवा आइसकेकाले अब नेतृत्व भनेको लठ्ठी खोजेर ठीक पारिदिनु पर्ने, पत्रिका पढेर सुनाउनु पर्ने र हिँड्ने बेलामा जुत्ता खोजेर दिनुपर्ने पुस्ताको वर्चस्व कम हुन्छ ।’

अघिल्लो महाधिवेशनले ८५ सदस्यीय केन्द्रीय कार्य समितिमा युवाहरुको उपस्थिति केही बलियो बनाए पनि हस्तक्षेपकारी हुन सकेको थिएन । महाधिवेशन नजिकिँदै जाँदा सभापतिलगायत अरु पदमा पनि पुरानै नेताले दाबी गरेकाले युवा पंक्ति भर्‍याङ मात्र बन्ने हुन्की भन्ने आशंका पनि उत्तिकै छ । सभापतिमा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले भिड्ने मनस्थिति बनाएका छन् भने अरु ठूला नेताहरु पनि पदाधिकारीमा आफ्नो स्थान सुरक्षित गर्नैका लागि तुरुपको रुपमा सभापितको उम्मेद्वार बन्ने बताउन थालेका छन् ।
तर, अब तीन पुस्ताका नेताको संयोजनबाट मात्र कांग्रेस चल्ने बताउनुहुन्छ अर्का युवा नेता विश्वप्रकाश शर्मा । बृद्ध उमेर भइसक्दा पनि पार्टीको पद ओगटरे बस्नु कांग्रेसको परम्परा नै बसिसकेको छ ।

१३ औं महाधिवेशनमा युवा वर्गले पार्टीको मुख्य पद नपाए पनि केन्द्रीय कार्यसमितिमा हस्तक्षेप गर्ने गरी उनीहरुको उपस्थिति हुनेमा आशंका गर्नुहुन्छ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य । तल्लो तहमा देखिएको युवाको लहर माथिल्लो तहसम्म उही रापतापका साथ नआउने आचार्यको विश्लेषण छ ।

उहाँ भन्नुहुन्छ, ‘पार्टीको तल्लो तहमा युवाको प्रभुत्व देखिए पनि विभिन्न कारणले माथिसम्म आइपुग्दा छिन्नभिन्न हुन्छ । तर, योपटक विगतमा भन्दा कांग्रेसमा युवाको उपस्थिति बलियो हुने विश्वास गर्न सकिन्छ ।’
पुराना नेताले आजीवन नेतृत्व तहमै बस्ने इच्छा राख्दाा कांग्रेसमा क्षमतावान हजारौं युवा निराश बनेका छन् । पाका नेता अभिभावकका रुपमा बसे नयाँ जोस र ऊर्जाका साथ पार्टी हाँक्न नयाँ पुस्ता आतुर छन् ।

​स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति पुन अस्पताल भर्ना

काठमाडौं, माघ २३ – 
उपराष्ट्रपति नन्दबहादुर पुन स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना हुनुभएको छ । 

एक कार्यक्रममा सहभागी हुन शनिबार सिन्धुलीतर्फ जानुभएका उपराष्ट्रपति पुनलाई स्वास्थ्यमा समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । 

एक्कासि मुटुको चाल बढेर अप्ठ्यारो भएपछि सेनाको हेलिकप्टरमा राखेर उपराष्ट्रपति पुनलाई राजधानी ल्याइएको हो । कार्यक्रमको उद्घाटन गरिरहनुभएका बेला मुटुमा समस्या देखिएपछि कामज्वरोसमेत आएको उपराष्ट्रपति पुनका छोरा दिपेश पुनले जानकारी दिनुभयो । रासस

भारतीय नक्कली प्रमाणपत्रमा डाक्टर बनेका ११ सहित १२ जना पक्राउ

काठमाडौं, माघ २३ -
 नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर भएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा अनारमनी गाविस घर भई बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत रामबाबु गिरी, मोरङ कटहरी गाविस घर भई पशुपति मोडेल अस्पताल इटहरीको प्रमुख भई कार्य गर्दै आएका पशुपति चौधरी, सप्तरी कल्याणपुर गाविस घर भई गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्मद कमरुल हक, सप्तरी बैरवा गाविस घर भई कोसी अञ्चल अस्पताल मोरङमा कार्यरत तुलसीकुमार महतो रहेका छन् ।
प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीर्ण नगरी नक्कली प्रमाणपत्रको आधारमा एमबिबिएस अध्ययन गरेका उनीहरुलाई केन्द्रीय अनुसन्धान विभागको टोलीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमध्ये नेपालबाट प्रवेशिका र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र सार्वजनिक गर्ने एकजना, भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने १० जना र भारतबाट प्रवेशिका परीक्षा र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने एकजना रहेका छन् । 
यसैगरी धनुषा लोहना गाविस घर भई ग्लोवल अस्पताल मिर्चैया सिराहामा कार्यरत मोहम्मद अहमद सिद्धिकी, महोत्तरी हात्तीसर्वा गाविस घर भई जनकपुर अञ्चल अस्पताल जनकपुरमा कार्यरत  सन्तोषकुमार यादव, धनुषा जिल्ला जनकपुर नगरपालिका घर भई चानसी मेडिकल हल जनकपुरमा कार्यरत कल्याण विश्वास रहेका छन् ।
त्यस्तै सिराहा विष्णुपुर गाविस घर भई कलेज अफ मेडिकल साइन्स कलेज भरतपुर, चितवनमा कार्यरत विनिता यादव, धनुषा जिल्ला जनकपुर नगरपालिका घर भई अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, धनुषा सत्तोखर गाविस घर भईरामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्रकुमार महतो, कपिलवस्तु तौलिहवा नगरपालिका घर भई स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलवस्तुमा कार्यरत अफजल हुसैन, महोत्तरी औरही गाविस घर भई ग्लोवल अस्पताल ग्वार्को ललितपुरमा कार्यरत श्यामबाबु साह रहेका छन् ।    
प्रमुख चिकित्सकहरुको दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएका परीक्षार्थीहरुले नक्कली प्रमाणपत्रहरुको आधारमा अध्ययन गरी सोही आधारमा चिकित्सक दर्ता प्रमाणपत्र लिई चिकित्सक बनी काम कार्य गरेको, चिकित्सक दर्ता परीक्षा उत्तीर्ण नै नभई बिना दर्ता प्रमाणपत्र रजिस्टर्ड चिकित्सक भनी ठगी गर्नेहरुको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो ।
ब्युरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषदद्वारा संयुक्त रुपमा ‘अपरेसन क्वाक’ प्रारम्भ गरी अनुसन्धान हुँदा विभिन्न तहका नक्कली प्रमाणपत्र पेस गरेका उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुमध्ये रसियाबाट एमबिबिएस गर्ने एकजना, चीनबाट पाँचजना, भारतबाट एकजना, पाकिस्तानबाट दुई जना, बङ्गलादेशबाट एकजना रहेका छन् । तीमध्ये बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत रामबाबु गिरीले फिलिपिन्सबाट एमडीसमेत गरेको खुलेको छ ।
चिकित्सा पेसामा संलग्न १ सय ५० भन्दा बढी व्यक्तिहरुको शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूको पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

​१२ औं साग : शनिबार नेपाललाई १ रजत र २ कास्य

सिलोङ, माघ २३ – 
बाह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा शनिबारसम्म नेपालको १ रजत र २ कास्यसहित तीन पदक भएको छ ।  भारत्तोलनमा नेपालका विकास थापाले रजत पदक जितेका छन् । विकासले ६२ केजी तौल समूहमा रजत पदक जितेका हुन् ।  शनिबार नै भएको भारोत्तोलन ५४ केजी तौल समूहमा देवीकुमारी चौधरीले कास्य पदक जितिन् ।
 चौधरीले स्न्याचमा ५४ केजी र क्लिन एण्ड जर्कमा ७५ केजी गरी कुल १ सय २९ केजी उचालिन् । त्यस्तै विकासले स्न्याचमा १ सय १२ र क्लिन एण्ड जर्कमा १ सय ३० केजी भार उठाए । देवी र विकास दुवै नेपाल प्रहरीका खेलाडी हुन् । कुस्ती ६५ केजी तौल समूहमा सरोज यादवले कास्य पदक जिते ।

 पदकको आशा गरिएको पौडीमा भने नेपालले त्यसअनुसारको प्रदर्शन गर्न सकेन । नेपालका गौरिका सिंह र सोफिया शाहले राष्ट्रिय रेकर्ड बनाएपनि पदक दिलाउन सकेनन् ।

 अहिलेसम्म १४ स्वर्ण पाँच रजतसहित भारत पहिलो स्थानमा, चार स्वर्ण १० रजत र सात कास्यसहित श्रीलंका दोस्रो स्थानमा, एक स्वर्ण दुई रजत र तीन कास्यसहित तेस्रो स्थानमा छ । बंगलादेशको एक रजत र आठ कास्य छन् । 


मलेसियामा २१ जना नेपाली कम्पनीको ज्यादती सहन बाध्य

मलेसिया, माघ २३ –
मलेसियाको पोर्ट क्लाङमा कार्यरत २१ जना नेपाली कम्पनीको ज्यादती सहन बाध्य भएका छन् । मलेसिया गएको १८ महिना भएपनि दोस्रो महिनाको भिसा अहिलेसम्म नपाएको त्यहाँ कार्यरत नेपालीले बताएका छन् ।
आफ्नो भिसाको बारेमा सोध्यो भने नेपाल पठाउन एजेण्ट बोलाउने र एजेण्टले लगेर थुनामा राख्ने गरेको कम्पनीमा कार्यरत गोरखाका यदु पाण्डेले बताउनुभयो । दोस्रो वर्षको भिसाका लागी भनेर ५ महिना अगाडी मेडीकल चेक गराएको तर अहिलेसम्म भिसाको कपी हात नपरेको धनकुटाका गंगालाल सार्कीले बताउनुभयो ।

साग स् महिला भलिबलमा नेपाल सेमिफाइनलमा

माघ २३
भारतको गुवाहटीमा भइरहेको १२ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत महिला भलिबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल अफगानिस्तानबाट वाक ओभर पाउदै समूह एको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । शुक्रबार नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

भलिबलकै पुरुषतर्फको खेलमा भने नेपाल भारतसित शनिबार ३–० को सोझो सेटमा पराजित भयो । नेपाल २५–१५, २५–१६ र २५–१५ ले चुक्यो ।