Saturday, February 6, 2016

भारतीय नक्कली प्रमाणपत्रमा डाक्टर बनेका ११ सहित १२ जना पक्राउ

काठमाडौं, माघ २३ -
 नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर भएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा अनारमनी गाविस घर भई बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत रामबाबु गिरी, मोरङ कटहरी गाविस घर भई पशुपति मोडेल अस्पताल इटहरीको प्रमुख भई कार्य गर्दै आएका पशुपति चौधरी, सप्तरी कल्याणपुर गाविस घर भई गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्मद कमरुल हक, सप्तरी बैरवा गाविस घर भई कोसी अञ्चल अस्पताल मोरङमा कार्यरत तुलसीकुमार महतो रहेका छन् ।
प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीर्ण नगरी नक्कली प्रमाणपत्रको आधारमा एमबिबिएस अध्ययन गरेका उनीहरुलाई केन्द्रीय अनुसन्धान विभागको टोलीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमध्ये नेपालबाट प्रवेशिका र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र सार्वजनिक गर्ने एकजना, भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने १० जना र भारतबाट प्रवेशिका परीक्षा र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने एकजना रहेका छन् । 
यसैगरी धनुषा लोहना गाविस घर भई ग्लोवल अस्पताल मिर्चैया सिराहामा कार्यरत मोहम्मद अहमद सिद्धिकी, महोत्तरी हात्तीसर्वा गाविस घर भई जनकपुर अञ्चल अस्पताल जनकपुरमा कार्यरत  सन्तोषकुमार यादव, धनुषा जिल्ला जनकपुर नगरपालिका घर भई चानसी मेडिकल हल जनकपुरमा कार्यरत कल्याण विश्वास रहेका छन् ।
त्यस्तै सिराहा विष्णुपुर गाविस घर भई कलेज अफ मेडिकल साइन्स कलेज भरतपुर, चितवनमा कार्यरत विनिता यादव, धनुषा जिल्ला जनकपुर नगरपालिका घर भई अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, धनुषा सत्तोखर गाविस घर भईरामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्रकुमार महतो, कपिलवस्तु तौलिहवा नगरपालिका घर भई स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलवस्तुमा कार्यरत अफजल हुसैन, महोत्तरी औरही गाविस घर भई ग्लोवल अस्पताल ग्वार्को ललितपुरमा कार्यरत श्यामबाबु साह रहेका छन् ।    
प्रमुख चिकित्सकहरुको दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएका परीक्षार्थीहरुले नक्कली प्रमाणपत्रहरुको आधारमा अध्ययन गरी सोही आधारमा चिकित्सक दर्ता प्रमाणपत्र लिई चिकित्सक बनी काम कार्य गरेको, चिकित्सक दर्ता परीक्षा उत्तीर्ण नै नभई बिना दर्ता प्रमाणपत्र रजिस्टर्ड चिकित्सक भनी ठगी गर्नेहरुको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो ।
ब्युरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषदद्वारा संयुक्त रुपमा ‘अपरेसन क्वाक’ प्रारम्भ गरी अनुसन्धान हुँदा विभिन्न तहका नक्कली प्रमाणपत्र पेस गरेका उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुमध्ये रसियाबाट एमबिबिएस गर्ने एकजना, चीनबाट पाँचजना, भारतबाट एकजना, पाकिस्तानबाट दुई जना, बङ्गलादेशबाट एकजना रहेका छन् । तीमध्ये बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत रामबाबु गिरीले फिलिपिन्सबाट एमडीसमेत गरेको खुलेको छ ।
चिकित्सा पेसामा संलग्न १ सय ५० भन्दा बढी व्यक्तिहरुको शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूको पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment